वीरगंज २८ बैशाख/ मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम संविधानमा सुनिश्चित गरिएको अधिकारबाट समेत मधेशीलाई बञ्चित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भएको छ । फोरम नेपाल पर्साले आज वीरगंजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनबाट सिर्जित दबाबपछि अन्तरिम संविधानको धारा १ सय ३८ मा तोकिएको स्वायत्त मधेश प्रदेशको अवधारणालाई तुहाउन एकीकृत माओवादी, कााग्रेस र एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको हो । मधेशीमाथिको शासन र शोषण कायम राख्नका लागी मधेशको धर्ती खण्डित गर्ने गरी दलहरुले उत्तर–दक्षिण सीमांकन हुनेगरी तीनवटै प्रमुख दलले प्रदेशको खाका ल्याइ रहेको उनको दाबी थियो । पर्सा, बारा र रौतहटबाट विरोध सभामा सहभागी भएका आफ्ना दलका कार्यकर्तामाझ सम्बोधन गर्दै यादवले सत्ता साझेदार मधेशी मोर्चा समेत ठूला तीन दलको षड्यन्त्रको मतियार बनेको बताउनु भयो । अध्यक्ष यादवले अखण्ड सुदूर पश्चिमको आन्दोलन, झापा र सुनसरीलाई मधेशबाट टुक्रयाउने चलखेल र मिथिला र भोजपुराको नाममा मधेशमा कााग्रेसको अगुवाईमा ठूला दलहरुले विखण्डन ल्याउन खोजेको आरोप लगाउनु भयो । वर्तमान् सरकार राष्ट्रिय सहमतीको सरकार नभइ संविधानको धारा ३८(२) अनुसार गठित बहुमतको सरकार मात्र हो, विरोध सभालाई सम्बोधन गर्दै यादवले बाबुराम भट्टराई सरकारको विस्तार कदापी राष्ट्रिय सरकार नभएको बताउदै यो सरकार कानुनी व्यवस्थामा असफल र भ्रष्ट सरकार भएको दावी समेत गर्नुभयो । फोरम नेपाल पर्साको अध्यक्ष प्रदिप यादवको सभापतीत्वमा सम्पन्न भएको विरोध सभामा फोरम नेपालका विभिन्न नेता कार्यकर्ताहरु सम्बोधन गरेका थिए । विरोध सभामा फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य विरेन्द्र यादव र उनको नेतृत्वमा रहेको कार्यकर्ताहरुले पार्टी परिच्याग गरी फोरम नेपालमा प्रवेश समेत गर्नुभयो ।
No comments:
Post a Comment