बीरगंज १० फागुण/ झुठा विवरण पेश गरी नेपाली नागरीकता लिन सफल भएको एक भारतीय परिवारलाई जिल्ला प्रशासन कार्यालय र प्रहरीले समेत कानूनी कारवाहीको दायरामा नल्याएको व्यवसायी एवम् युवा नेता राजेशमान सिंहले आरोप लगाएका छन् ।
वीरगजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सिंहले भारतीय नागरीक मंसुर खाँ तथा उनका परिवारका सदस्यले यसरी नेपाली नागरीकता लिएको कुरा कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हालै प्रमाणित गरी उक्त परिवारलाई कारवाही गर्न जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई निर्देशन दिइ सकेपनि दुबै कार्यालय मौन बसेको आरोप लगाउनु भएको छ । उहाँले हाल वीरगंज ३ मा बस्दै आएका भारतीय नागरीक मंसुर खाँले किर्ते तथा झुठो विवरण पेश गरी झुक्याई नक्कली बाबु खडा गरी नेपाली नगारीकता लिएको र उनकी पत्नी हमिदा तथा छोराहरु गुड्डु र शाहबुद्दिन खाँ समेतले त्यस्तै विवरण पेश गरी नेपाली नागरीकता लिएको कुराको उजुरी आफूले २०६५ फागुन ८ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको र त्यसै उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रकृया अघि बढाई गत मंसिर २७ मा आरोप सही रहेको ठहर गरी निर्णय समेत गरेको सिंहले बताउनु भयो । सिंहले अख्तियारले उक्त निर्णय अनुरुप नक्कली नागरीकता लिने सबैलाई कारवाही गर्न निर्देशन दिएपनि दुबै कार्यालयले त्यस सम्बन्धमा तदारुकता नदेखाएको आरोप लगाउनु भयो । प्रहरी उपरीक्षक रमेश खरेलले सिंहले आरोप लगाए बमोजिम प्रहरी प्रशासनले यो मुद्दामा उदासिनता नदेखाएको जिकिर गर्नु भयो । उहाँले प्रमाण हेर्दा दोहोरो नागरीकता लिए जस्तो देखिएपनि प्रमुख जिल्ला अधिकारी र आफूले यो मुद्दामा थप अनुसन्धान गर्ने निर्णय लिएको र त्यसमा अनुसन्धान समेत जारी रहेको दाबी गर्नु भयो ।
No comments:
Post a Comment