Pages

सहकारी संस्थाको उदघाटन

जीतपुर २१ श्रावण/ बारा जिल्लाको उत्तरमा रहेको अमलेखगञ्जमा अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज उदघाटन भएको छ ।
संस्था उदघाटनपछि आयोजित समारोहमा डिभिजन सहकारी कार्यालय बारा कलैयाका प्रमुख महेन्द्र राउतले अनमोल सहकारीको आगमनले अमलेखगञ्जवासीहरुको जीवनमा परिवर्तन ल्याउन सहयोग पुर्याउने अपेक्षा गर्नु भयो । कार्यक्रमलाई सम्वोधन गर्दै बारा जिल्ला बचत तथा ऋण सहकारी संघ एवम् हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष कृष्ण पौडेलले संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै सहकारीले मुलुकको आर्थिक सामाजिक एवम् सांस्कृतिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्नु भयो । सहकारीमा उठिरहेको नकारात्मक चिन्तन र प्रवृति अनावश्यक रहेको र राज्य, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयासले मात्र आम नागरिकहरुले आर्थिक लाभ र विकास पाउन सक्ने उहांले बताउनु भयो । मुलुकभरका सहकारी संघसंस्थाहरुको एक मात्र बैंकको रुपमा रहेको राष्ट्रिय सहकारी बैंकको बारा पर्सा र रौतहट जिल्लाका लागि सिमरा शाखाका अध्यक्षसमेत रहेका पौडेलले बैंकको उदघाटन यसैमहिनाभित्र हुने र यसबाट यस क्षेत्रका सहकारी संघसंस्थाहरु प्रत्यक्ष र आम नागरिक अप्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनु भयो । संस्था अध्यक्ष ज्ञानराज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवसिर्जना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केन्द्र गुरुङलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । बत्तीस जना युवाहरु मिलेर खोलिएको उक्त संस्थाले अमलेखगञ्जमा साना तथा मध्यम तहको आवश्यकता परिपूर्तिमा ध्यान दिने संस्थाका सचिव रोहित बहादुर घिसिङले बताउनु भयो । सोही अवसरमा राउत र पौडेलले संस्थाका शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । 

No comments:

Post a Comment