बीरगंज १६ श्रावण/ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रले मुलुकको अर्थतन्त्र र सामाजिक विकासमा पुर्याएको योगदानलाई सम्मान गर्दै यसको प्रभावकारी प्रवद्र्धनका लागि राज्यले छुट्टै सहकारी मन्त्रालयको व्यवस्था गर्न र करमुक्त क्षेत्र घोषणा गर्न सरकारसंग मांग गर्नु भयो । ...............
उक्त कुरा आज सिमराको पथलैयामा हातेमालो बचत तथा ऋण सहकारी संघ लिमिटेडको तीन दिने संस्था व्यवस्थापन तालीमको समापन समारोहलाई सम्वोधन गर्दै बताउनु भएको हो । सहकारीले समुदायलाई केन्द्रविन्दु बनाएर आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि प्रयास गर्ने भएकोले समावेशी र दिगो विकासका लागि सहकारीलाई व्यापक प्रवद्र्धन गर्नु पर्ने कडेलले बताउनु भयो । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटलाई सहकारीमुखी भनिएपनि त्यो केवल शव्दमा सीमित रहेको र सहकारी क्षेत्रका मांगहरुलाई खासै सम्वोधन नभएको बताउनु भयो । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन सहकारी कार्यालय बारा कलैयाका प्रमुख महेन्द्र राउत, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष भोला गौतम, रौतहट बचत तथा ऋण सहकारी संघका सञ्चालक खडग मैनाली, नेफ्स्कुनका वरिष्ठ अधिकृत रामबाबु आचार्य, हातेमालो लेखा समिति संयोजक डम्मरमणि लिम्वुलगायतले बोल्नु भएको थियो । तालीममा तीन दिनसम्म संस्थाको समग्र व्यवस्थापन, रणनीतिक एवम् त्रिवर्षीय योजना, पदाधिकारीहरुको कामकर्तव्य अधिकार, स्थिति विश्लेषणजस्ता विषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, उपसमितिहरु, कर्मचारीहरु एवम् शेयर सदस्यहरु गरी ३५ जनाको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment